17.1 C
Kathmandu
Wednesday, May 25, 2022

गएराति बन्दीपुरमा जीप दुर्घटना हुदा कांग्रेस नेता हरि न्यौपाने दम्पत्तिकै मृत्यु

नेपाली कांग्रेसका नेता न्यौपाने दम्पत्तिको सवारी दुर्घटनामा ज्यान गएको छ । उनीहरुको गएराति बन्दीपुर गाउँपालिकाको वडा नं. ६ धरमपानी बाक्से हटियामा भएको जीप दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनामा कांग्रेसका क्षेत्रीय प्रतिनिधि ५३ वर्षका हरिबहादुर न्यौपाने र उनकी धर्मपत्नी ४८ वर्षकी सुशीलादेवी न्यौपानेको मृत्यु भएको हो । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा न्यौपाने दम्पत्तिसहित अन्य चार जनाको पनि मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका आठ जनाको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको बताइन्छ ।

बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले दुर्घटनाले वडावासी शोकमा डुबेको बताउनुभयो । उहाँका अनुसार मृतकमध्ये एक दम्पती पनि छन् । एकैघरका आमा छोराको पनि दुर्घटनामा मृत्यु भएको छ । “चार जनाको शव घटनास्थलबाट निकालेका थियौँ, थप दुईको उपचारका क्रममा मृत्यु भयो”, उहाँले भन्नुभयो ।

प्रहरीका अनुसार दुर्घटनामा परी बन्दीपुर गाउँपालिका–६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, नौमहिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरुङको मृत्यु भएको छ ।

दुर्घटनामा २१ वर्षीया जमुना थापा, ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, सात महिनाकी बालिका विविशा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपीन थापा घाइते भएका छन् ।

Latest news
Related news