माधव नेपाल पक्षबाट पनि मन्त्री बन्दै - Khabar Nepali
  • बिहिबार, असार १०, २०७८

माधव नेपाल पक्षबाट पनि मन्त्री बन्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्दै हुनुहुन्छ । आज ७ मन्त्री र १ राज्यमन्त्री थपेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको जनाइएको छ ।

थपिएका मन्त्रीहरुको शपथ आजै अपराह्न ४ बजेपछि राष्ट्रपति निवासमा हुने बताइएको छ । थपिन लागेका मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउन प्रधानमन्त्री ओली पार्टीका नेताहरूसँग परामर्शमा रहेको बालुवाटार स्रोतले जनाएको छ ।

हाल रक्षा, गृह, वन तथा वातावरण, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधिजस्ता महत्वपूर्ण मन्त्रालय प्रधानमन्त्री ओलीले नै हेर्दै आउनुभएको छ ।

आज थपिने सबै मन्त्रीहरु नेकपा एमालेकै रहने बताइएको छ । यसअघि जनता समाजवादीको राजेन्द्र महतो र महन्थ ठाकुर पक्षका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरिएको थियो ।

हाल थपिन लागेका मन्त्रीहरुमा एमालेको माधव नेपाल समूहका पनि रहेको बताइएको छ । माधव समूहका मानिने गणेश पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने चर्चा छ । यसैगरी गृह मन्त्रीमा खगराज अधिकारीको नाम र सञ्चार मन्त्रीमा पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापाको नाम पनि चर्चामा छ । तर अन्तिम नामावली टुंगाे लागिसकेकाे छैन ।

सम्बन्धित खवर