जबसम्म तपाईं रिक्स लिनुहुन्न, तबसम्म कलाकार बन्न सक्नुहुन्न : सुनिल सेट्टी - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

जबसम्म तपाईं रिक्स लिनुहुन्न, तबसम्म कलाकार बन्न सक्नुहुन्न : सुनिल सेट्टी

एक समय बलिउडमा आफ्नो बलियो पकड बनाएका अभिनेता सुनिल सेट्टीले फिल्म ‘बलवान’ बाट बलिउडमा डेब्यू गरेका हुन् । ‘मोहरा, दे दना दन, जानी दुश्मन, बोर्डर, सपूत, हेरा फेरी’ जस्ता फिल्मबाट उनले ठूलो नाम कमाए । एक्सन नायकको छवि बनाएका उनले सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन, अक्षय कुमारको जसरी पर्दामा राज गर्न भने सकेनन् ।

हालै एक अन्तर्वार्तामा सुनिलले आफ्नो त्यो गल्तीलाई स्वीकार गरेका छन्, जसका कारण उनले यो अवस्था भोग्नु पर्‍यो । उनले भनेका छन्, ‘एक सेनिल सेट्टी थियो, जो केही वर्षपछि असफल भयो । किनकि, ऊ सब्जेक्टमा विश्वास गर्थ्यो । तर, मार्केटिङमा पछाडि रह्यो । म पर्दामा सधैं नन रोमान्टिक इमेजमा देखिएँ । जबसम्म तपाईं रिक्स लिनुहुन्न, तबसम्म कलाकार बन्न सक्नुहुन्न ।’

उनी अगाडि भन्छन्, ‘मेरो समस्या यो होइन कि म टाइपकास्ट भएँ । मेरो समस्या यो थियो कि मैले सधैं सेफ प्‍ले गर्न चाहेँ । यदी तपाईंले एउटै निर्देशक र ब्यानरसँग काम गर्नुहुन्छ भने यसको मतलब यो हुन्छ कि तपाईंमा निर्णय लिन सक्ने क्षमता छैन । मबाट पनि यही गल्ती भयो ।’ उनले टाइगर श्राफ र आयुष्मान खुराना जस्ता कलाकारको काम गर्ने शैलीको खुलेर प्रशंसा गरेका छन् ।

कलाकारले आफ्नो छुट्टै स्टाइल बनाउनु पर्ने उनको तर्क छ । आजको समयमा आफूमाथि कसैले ५० करोडको रिक्स लिन पनि नचाहने उनी बताउँछन् । सुनिल अगाडि थप्छन्, ‘मैले आफ्नो गल्तीबाट जुन कुरा सिकेँ, त्यो मेरो छोराको करिअरमा काम आउनेछ ।’ उनका छोरा अहान बलिउड प्रवेशका लागि तयार छन् । उनले फिल्म ‘तडप’ बाट नायकको रुपमा डेब्यू गर्दैछन् ।

सम्बन्धित खवर