चलचित्र उद्योगमा बज्रपात, फेरि कामविहीन बन्दै कलाकार–प्राविधिक - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

चलचित्र उद्योगमा बज्रपात, फेरि कामविहीन बन्दै कलाकार–प्राविधिक

कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै चलचित्र उद्योग पुनः पूरै बन्द हुने अवस्थामा पुगेको छ । छायांकनका लागि तयारी गरिरहेका चलचित्र कोरोनाका कारण पछि हट्नुपर्ने अवस्था आएपछि चलचित्र उद्योग पुनः ठप्प हुने अवस्थामा पुगेको हो ।

पहिलो चरणको कोरोना संक्रमणको त्रासपछि चलचित्र उद्योगमा छायांकन मात्रै पुरानै लयमा फर्किएको थियो । बाँकी सबै पक्षमा कोरोनाको प्रभाव हटिसकेको थिएन । १० महिना बन्द भएपछि आंशिक रूपमा सिनेमा हल खुले पनि दर्शक हलमा गएका थिएनन् । धेरै हलहरु बन्द प्रायः थिए ।

अन्य पक्षमा कोरोनाको त्रास यथावत् रहे पनि केही चलचित्र छायांकनमा गए । अहिले नौवटा चलचित्र छायांकनमा रहेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा बताउँछन् । आधा दर्जन चलचित्र छायांकनमा जाने तयारी गरिरहे पनि पछिल्लो परिस्थितिले अन्योल सिर्जना गरेको उनको भनाइ छ ।

“अहिले पनि आधा दर्जन चलचित्र छायांकनमा जाने तयारीमा थिए । यसबाट पनि केही प्राविधिकहरुले काम पाउँथे । तर, यी चलचित्र छायांकनमा जाने अवस्था देखिएको छैन । यसको प्रत्यक्ष प्रभाव हाम्रा साथीहरुलाई देखिने अवस्था आयो,” अध्यक्ष लामा भन्छन् ।

पुनः लकडाउन भएको अवस्थामा १५ सय चलचित्र प्राविधिक बेरोजगार हुने उनी बताउँछन् । चलचित्र क्षेत्रका सबै पक्षलाई लकडाउनले प्रभाव पारे पनि सबैभन्दा पहिला त्यसको प्रभाव प्राविधिकलाई पर्ने उनको भनाइ छ । यद्यपि, पहिलाको जस्तै भोकभोकै बस्नुपर्ने अवस्था आए त्यसको विकल्प कसरी खोज्नुपर्छ भनेर आन्तरिक रूपमा सामान्य छलफल भए पनि सरोकारवाला निकायहरुसँग यस विषयमा कुराकानी नभएको उनले बताए ।

कोरोनाका कारण चलचित्र क्षेत्रमा सबैभन्दा धेरै प्रभावित हुनेमध्ये सिनेमा हल व्यवसायी हुन् । देशभर रहेका १९५ वटा सिनेमा हलमध्ये कोरोनाकै कारण करिब १८ वटा बन्द भइसकेका छन् । अरु पनि केही बन्द हुने अवस्थामा पुगेको नेपाल चलचित्र संघले जनाएको छ । लामो समयको बन्दका कारण भाडामा रहेका हलहरु बन्द हुने अवस्थामा पुगेका जनाइएको छ । नेपालमा सिनेमा हलमा करिब १२ अर्ब रुपैयाँ लगानी रहेको छ । यी हलमा ठूलो संख्या मजदुर आश्रित छन् ।

नेपाल चलचित्र संघका महासचिव अशोक शर्मा अझै लामो समय सिनेमा हल बन्द रहे अरु थुप्रै हल सधैँका लागि बन्द हुने निश्चित रहेको बताउँछन् । “हाम्रो क्षेत्रमा अवस्था कठिन हुँदै गएको छ । बीचको केही समय ५० प्रतिशत अकुपेन्सीमा हल खोलिए पनि चलचित्रको अभावमा दर्शक आएनन्,” महासचिव शर्मा भन्छन्, “हलको भाडा र बैंकको ब्याजले परिस्थिति बिजोग बन्दै गइरहेको छ । लगानी डुबिसक्यो । कहिले सामान्य हुने निश्चित छैन । सामान्य भएपछि पनि यो क्षेत्रलाई पुरानै अवस्थामा फर्किन समय लाग्छ । स्थिति नाजुक रह्यो ।

सरकारले चलचित्र क्षेत्रलाई बेवास्ता गरेको बताउँदै उनी भन्छन्, “चुनाव आएपछि मात्रै नेपालमा सरकार छ भन्ने थाहा हुन्छ । अरु बेला फलानो प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री छन् भन्ने मात्रै सुनिन्छ,” शर्मा व्यंग्य गर्छन्, “हाम्रो क्षेत्रमा सरकारले निभाउनुपर्ने दायित्त्व निभाएको छैन ।”

आफूहरुले पटक–पटक प्रधानमन्त्री, अर्थमन्त्री, सञ्चारमन्त्री, उद्योगमन्त्री, चलचित्र विकास बोर्डलाई दबाब दिए पनि माग सुनुवाइ नभएको उनको गुनासो छ ।

४०–५० वटा चलचित्र निर्माण सम्पन्न भएर सामान्य अवस्था कुरेर बसिरहेको परिस्थितिमा अहिले नयाँ चलचित्र फ्लोरमा जान नहुने उनी बताउँछन् । कोरोनाको त्रास अन्त्य भएपछि सुरुमा अघिल्लो वर्ष निर्माण भएका चलचित्र नै रिलिज हुने भन्दै परिस्थति सहज भएको पनि एक वर्षपछि रिलिज हुने चलचित्र अहिले नै छायांकनमा जान नहुनेमा उनको जोड छ ।

“अहिलेको जटिल परिस्थितिमा किन चलचित्र फ्लोरमा गइरहेका छन् मलाई आश्चर्य लागेको छ । निर्मातासँग कहाँबाट पैसा आइरहेको छ ?,” महासचिव शर्माको प्रश्न छ, “मुर्गा फसाएर चलचित्र फ्लोरमा गइरहेका छन् ? अहिले सुटिङ गर्ने, प्रोडक्सनमा जाने निर्माता देखेर मलाई अचम्म लागिरहेको छ ।”

केही कलाकार तथा प्राविधिकले म्युजिक भिडियोमा काम पाए पनि अधिकांशले काम नपाएको उनी बताउँछन् । सामान्य अवस्थामा वर्षमा सयवटा चलचित्र बन्ने गरेकोमा अहिले ७/८ वटा चलचित्र फ्लोरमा गएर सबैको जीविका नचल्ने उनको भनाइ छ ।

चलचित्रमा लगानी गरेका वितरकको अवस्था पनि दयनीय रहेको उनी बताउँछन् । चलचित्रमा गरेको लगानी ‘फ्रिज’ भएर बस्दा वितरकहरु पनि ठूलो मारमा परेको भन्दै शर्मा भन्छन्, “चलचित्र उद्योगमा बज्रपात पर्‍यो । सरकार संवेदनशील भइदिएको भए हामीलाई केही सहज हुने थियो । तर, सरकार सत्ताकै खेलमा केन्द्रित हुँदा हामीले दुःख पायौँ ।”

सम्बन्धित खवर