वर्षभरीकै महँगो मुल्यमा साल्ट ट्रेडिङको सेयर, किन बढिरहेको छ भाउ ? - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

वर्षभरीकै महँगो मुल्यमा साल्ट ट्रेडिङको सेयर, किन बढिरहेको छ भाउ ?

साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर वर्षदिन यताकै महँगिएको छ । कम्पनीको सेयर प्रति कित्ता १० हजार रुपैयाँ नाघेको हो ।

बुधबारको कारोबारमा साल्ट ट्रेडिङको सेयरमा सर्किट ब्रेकर नै लागेको छ । हकप्रद सेयर जारी गर्दैछ भन्‍ने हल्लाबाजी गरेर साल्टको सेयर मूल्य बढाइरहेको हुनसक्ने केही लगानीकर्ताहरूको आकलन छ ।

गत वर्ष ४ मार्चमा साल्टको सेयर प्रति कित्ता दुई हजार सात सय ४३ रुपैयाँबाट सुरु भएको थियो । जसअनुसार अहिले साल्टको सेयर कित्तामा सात हजार पाँच सय रुपैयाँ महँगिएको छ । सर्किट ब्रकेर लागेपछि साल्टको सेयर मूल्य १० हजार दुई सय २२ रुपैयाँमा रोकिएको छ ।

‘साल्ट ट्रेडिङले हकप्रद निष्काशन गर्दै भन्‍ने हल्ला पिटाएको मैले सुनेको छु,’ लगानीकर्ता छोटेलाल रौनियार भन्छन्,’त्यहीँ भएर साल्टको सेयर मूल्य बढिरहेको भन्‍ने अनुमान गरिएको छ ।’

१५ करोड रुपैयाँ पुँजी भएको साल्टको आधा सेयर पनि कारोबार हुँदैन । जसकारण असाधारण तरिकाले भाउ बढाउने र घटाउने क्रम बढेको छ ।

साल्टको सेयर मूल्य बढेसँगै ट्रेडिङ समूह नै ९ दशमलव २६ प्रतिशतले बढेको छ । ट्रेडिङ समूहमा जम्‍मा चार कम्पनी सूचीकृत छन् । विशालबजार कम्पनी, नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वेलफेयर कम्पनी र साल्ट ट्रेडिङ मात्रै लिस्टिङमा छन् । साल्टको सेयर मूल्यमा आएको उछालले ट्रेडिङ समूहमै  उछाल ल्याएको छ । ट्रेडिङ समूहमा ३०६ अंकको उछाल आएको हो ।

सम्बन्धित खवर