कुन कुन अवस्था भए को को हुन्छ प्रधानमन्त्री ? विकल्पहरु यस्ता छन् - Khabar Nepali
  • बिहिबार, मङि्सर १६, २०७८

कुन कुन अवस्था भए को को हुन्छ प्रधानमन्त्री ? विकल्पहरु यस्ता छन्

संसद विघटनलाई सर्वोच्चले बदर गरे पछि मुलुक फेरि पुष ५ मा फर्किएको छ । सर्वोच्चको आदेश अनुसार अबका दर्जन दिन भित्र संसदको अधिवेशन बस्नु पर्ने छ । यसैले अबको राजनीति चालबाज प्रधानमन्त्रीबाट कसरी केपी ओलीलाई हटाउने र उनको स्थानमा को प्रधानमन्त्री हुने भन्ने वरिपरी मात्रै घुम्ने छ । यो खेलमा नेपाली कांग्रेस लगभग मौन बसेको छ तर अवस्थाले भन्छ, कांग्रेस मौन बसे पनि यो अवस्थामा सबै भन्दा मुख्य पात्र नेपाली कांग्रेस नै हुनेछ । अनि, नेकपा भित्रका नेताहरुको दौडधुप सबै भन्दा बढि हुनेछ तर उनीहरुको दौडधुपको प्रतिफल उनीहरुकै पक्षमा मात्रै हुन सक्ने सम्भावना पनि कम छ । अत: अबको प्रधानमन्त्री को हुन सक्छ भन्ने अनुमान अहिलेका लागि रोचक हुन सक्छ ।

सर्वोच्चको फैसलाले नफुकाएको जटिलता

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिए पछि राजनीति अब सरलतातिर लाग्ला भन्ने धेरैको अनुमान थियो तर त्यसो भएन । प्रधानमन्त्रीबाट ओलीले राजिनामा दिन्न भने पछि राजनीति सोचे जस्तो सरल भने हुन पाएन । यो अलग्गै पाटो हो तर सर्वोच्चको फैसलाले संवैधानिक प्रश्नको हल भने कहिलै प्रश्न नउठ्ने गरि गरेको छ । अबका दिनमा कुनै पनि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्ने आँट गर्दैन ।

सर्वोच्चको त्यो दुरमागी फैसलासँगै राजनीतिको विवाद अब संवैधानिक नभएर केवल पार्टीगत झगडा त्यो पनि केपी-रामबहादुर गुट र प्रचण्ड-माधव गुट बिचको भएको छ । सत्तारुढ नेकपा न फुटेको छ, न एक छ । केपी-रामबहादुर समुहसँग पार्टी फुटाउनका लागि न्युनतम संख्या छैन भने प्रचण्ड-माधव समुहलाई निर्णयको आधिकारिकताले अफ्ठ्यारोमा पारेको छ । यो बिषय अहिले निर्वाचन आयोगमा अल्मलिएको छ, सर्वोच्चमा पुगेकै छैन । यसैले यो जटिलतामा सर्वोच्चले केहि गर्न सक्दैन थियो, गरेन । यदि देश निर्वाचनमा गएको भए पनि यो जटिलता कायमै रहन्थ्यो ।

यसैले सर्वोच्चको आदेशले जटिलता फुकाएन भन्नु सहि होइन ।

कसको प्रधानमन्त्री हुन सक्ने सम्भावना र अवस्था कस्तो ?

१. पुष्पकमल दाहाल ‘प्रचण्ड’

ओली पछाडी प्रधानमन्त्री हुन सक्ने सबै भन्दा बढि सम्भावना भएर प्रचण्डको नाम नम्बर १ मा परेको भने होइन । संसद विघटन भएकै दिन प्रधानमन्त्रीको विरुद्धमा परेको अविश्वासको प्रस्तावमा प्रचण्डको नाम प्रस्ताव गरिएको थियो । यसैले प्रचण्ड-माधव समुहमा उनी सर्वसम्मत हुन भन्ने मान्न सकिन्छ । यस्तो अवस्थामा पनि उनी प्रधानमन्त्री हुन नेकपा भित्रको राजनीति फेरिनु पर्नेछ । यदि ओलीले पार्टी भित्रको जटिलता फुकाएर अबको सरकार पनि नेकपाले नै चलाओस् भन्ने संकेत दिए भने प्रचण्ड प्रधानमन्त्री हुन सक्छन् । यदि ओलीले राजिनामा नदिएर अंक गणितिय खेलमा राजनीति लागेमा प्रचण्डको सम्भावना कम हुनेछ । तर देउवाले लौ खानुहोस् भनेर प्रधानमन्त्रीको पद हातमा राखिदिए भने प्रचण्डको सम्भावना छ ।

यसो त अघिल्लो पल्ट नौ नौ महिनाको सहमतिमा प्रचण्डले सरकार चलाउन पाएका थिए । प्रचण्डको त्यो कार्यकालमा सत्ता छोड्नै पर्ने प्रचण्डलाई कुनै बाध्यता थिएन तर उनले सहमतिको पालना गर्दै देउवालाई सत्ता सुम्पेका थिए । त्यहि विश्वासको आधारमा पुन: देउवा र प्रचण्ड विच त्यस्तै किसिमको कुनै सहमति बनेर प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने सम्भावना पनि रहन्छ ।

२. शेरबहादुर देउवा

संसद विघटनको विरुद्धमा भएको आन्दोलनमा सरिक नहुन शेरबहादुर देउवाले बहानाहरुका पोका फुकाइरहे । विघटन अगाडीको देउवाको क्रियाकलाप हेर्दा उनले ओलीलाई ग्रिन सिग्नल दिए झै पनि देखिन्छ । उनले ओलीको विश्वास जित्न पनि थप मिहिनेत गर्न पर्दैन । प्रचण्ड-माधव समुहलाई तह लाउन ओलीले बरु देउवालाई नै प्रधानमन्त्री बनाउन सक्छन् । त्यस्तै, ओलीले राजिनामा नदिएमा ओलीलाई हटाउनका लागि बहुमत पुर्याउन कांग्रेसको साथ अनिवार्य बन्छ । यस्तोमा प्रचण्ड-माधव समुहले देउवालाई नै प्रधानमन्त्री बनाउन सक्छ । भाइ भुटे गवार लुटेको व्यवहारिक अवस्था देउवामा लागू हुनेछ । नेकपा भित्र विवाद साम्य नभएमा प्रधानमन्त्री हुन सक्ने सबै भन्दा बढि सम्भावना देउवाकै छ ।

३. माधव कुमार नेपाल

माधव कुमार नेपालको प्रधानमन्त्री हुने सम्भावना राजनीतिको भर हुन्न भन्ने सिद्धान्तका आधारमा मात्रै कायम छ । उनले प्रधानमन्त्री पद पाउन नेकपा भित्रको विवाद यसरी टुंगिनु पर्छ कि जहाँ ओली अध्यक्षको पदमा नभएर प्रचण्ड एकल अध्यक्ष हुन पाउँछन् । यो अवस्था बन्ने भनेको सभामुखले ओलीलाई सांसद सदस्यबाट निस्कासन गरेर निर्वाचन आयोगले पार्टीको आधिकारिकता प्रचण्ड-माधव समुहलाई दिएमा मात्रै हो । त्यसो भएमा प्रचण्ड आफु एक्लो पार्टी अध्यक्ष बनेर नेपाललाई प्रधानमन्त्री बनाउनेछन् । तर यसको सम्भावना असाध्यै न्युन छ ।

४. ओली पुन: प्रधानमन्त्री

ओली पुन: प्रधानमन्त्री हुनका लागि या त पार्टी भित्रका सबै समस्या समाधान भएर प्रचण्ड-माधव समुहले ओलीलाई प्रधानमन्त्री स्विकार्नु पर्छ, या त प्रचण्ड-माधव समुह बाहेकका अरुको साथले पुन: प्रधानमन्त्री बन्नु पर्छ । यो सम्भावना माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने सम्भावना भन्दा कम छ ।

ओली समुहले देखेको अर्को सम्भावना

ओली समुहले नेपाली राजनीतिमा अन्य दुई सम्भावनाहरु पनि देखेका छन् । त्यो हो, पहिलो, अविश्वासको प्रस्ताव विफल हुन्छ र प्रधानमन्त्रीमा केपी ओली नै कायम रहन्छन् । दोस्रो, अविश्वासको प्रस्ताव पास भए पनि अबको संसदले प्रधानमन्त्री नै छान्न सक्दैन र देश चुनावमा जानेछ ।

तर यी दुवै सम्भावनाहरुमा त्यति विश्वास गर्न सकिदैन किनभने ओली समुह इतरका समूहहरु मिलेर अविश्वासको प्रस्ताव पास हुन सक्छ भने ओलीलाई हराउनकै लागि प्रचण्ड-माधव समुहले अन्तिम अश्त्रस्वरुप शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउन सक्छन् ।

सम्बन्धित खवर