अमेरिकी दूतावासमा एक सातामा तेस्रो रकेट हमला - Khabar Nepali
  • मङ्गलबार, फागुन २५, २०७७

अमेरिकी दूतावासमा एक सातामा तेस्रो रकेट हमला

इराकको राजधानी बगदादस्थित ग्रिन जोन क्षेत्रमा रहेको अमेरिकी राजदूतावासमा तीन वटा रकेट हमला भएको छ।

तीनमध्ये एक ग्रिन जोनमा र बाँकी दुई नजिकैको बस्तीमा खसेको थियो। इराक केही महिनादेखि शान्त थियो, तर अहिले पश्चिमी कूटनीतिक, सैन्य हाई सेक्युरिटी क्षेत्रमा तेस्रो पटक हमला भएको हो।

इराकी सेनाले रकेट हमलामा कसैको पनि ज्यान नगएको बताएको छ।  हमला गरिएको ‘ग्रिन जोन’ मा थुप्रै विदेशी दूतावास तथा सरकारी भवन छन्। उक्त क्षेत्रमा हमला गर्ने अरु कोही नभएर इरान समर्थित समूह रहेको अमेरिकी र इराकी अधिकारीको भनाइ छ।

कम्तीमा पनि एउटा रकेट इराकको नेसनल सेक्युरिटी सर्भिस र अमेरिकी दूतावासलाई केन्द्र बनाउँदै खसालिएको सुरक्षा अधिकारी बताउँछन्। अन्य रकेट पनि नजिकैका महत्वपूर्ण क्षेत्रमा खसालिएको छ।  एक साताअघि अरबिल विमानस्थलमा रहेको मिलिट्री कम्प्लेक्सलाई लक्षित गर्दै दजर्न रकेट खसालिएको थियो। त्यस क्षेत्रमा विदेशी सैनिक बस्छन्। ती सैनिकले अमेरिकाको अगुवाइमा २०१४ देखि जिहादीविरुद्धको लडाइँमा इराकलाई सहयोग गर्दै आएका छन्।

उक्त रकेट हमलामा दुईजना मारिएका थिए, जसमा एक विदेशी ठेकेदार र एकजना सर्वसाधारण परेका थिए। पछिल्लो रकेट सोमबार मध्यरातमा इरबिल सहरबाट हानिएको थियो। उक्त हमलाको जिम्मेवारी सिया विद्रोही समूह अवलिया अल–डाम वा रक्त संरक्षक समूहले लिएको छ।

पछिल्लो समय यस्ता समूहले घटनाको जिम्मेवारी लिन थालेको छ, जुन यसअघि नामसमेत सुनिएको छैन। तर, इराकी तथा अमेरिकी गुप्तचर संगठनका अनुसार सो हमला इरान समर्थित कतैब हिजबुल्ला तथा असैब अहल अल–हकका सदस्यले गरेका हुन्। (एजेन्सी)

सम्बन्धित खवर