सन् १९८९ अर्थात ३२ वर्षअघि प्रदर्शन भएको हिन्दी फिल्म ‘मैंने प्यार किया’ बाट बलिउडमा पदार्पर्ण गर्ने अभिनेत्री भाग्यश्री आज आफ्नो जन्मदिन मनाउँदैछिन् ।
पहिलो फिल्मबाट बेस्ट फिमेल डेब्यूको फिल्मफेयर अवार्ड विजेता यी अभिनेत्री आज फेब्रअरी २३ का दिन आफ्नो ५२ औं जन्मदिन मनाउँदैछिन् ।
यो उमेरमा समेत भाग्यश्रीको सुन्दरता तथा फिटनेस उस्तै छ ।
उनी अहिले पनि ३२ वर्षअघि कै भाग्यश्री देखिन्छिन् ।
भाग्यश्री सामाजिक सञ्जालमा आफ्ना फिटनेस भिडियोहरु शेयर गरिरहिन्छन् ।
तीनमा उनलाई देख्दा उनको उमेर ५२ वर्ष पुगिसकेको छ भन्ने कुरा पत्याउनै गाह्रो पर्छ ।
भाग्यश्रीका वर्कआउट भिडियोहरुमा अलग–अलग प्रकारका वर्कआउटहरु देख्न सकिन्छ ।
कतिपय भिडियोहरुमा उनले ती व्यायामका नाम समेत उल्लेख गरेकी छिन् ।
वर्कआउटबाहेक भाग्यश्री योगा तथा डेडिकेटेड जीममा स्टामिना बिल्डिङ एक्सरसाइज पनि गर्छिन् ।
उनको यो फिटनेस रुटिनमा उनका श्रीमान् हिमालय दस्सानी पनि सहभागि हुन्छन् ।
भाग्यश्रीले केही त्यस्ता भिडियोहरु पनि शेयर गरेकी छिन्, जसमा उनी हिमालय दस्सानीसंगै गाह्रो एक्सरसाइज गरिरहेको देखिन्छ ।
लकडाउनको क्रममा भाग्यश्रीले फिटनेसका थुप्रै भिडियोहरु शेयर गरिन् ।
उनले त्यसक्रममा बिहानीको थालनी नै कोर वर्कआउटबाट गर्ने उल्लेख गरेकी छिन् ।
त्यसमा पेल्भिक, ढाडको तल्लो भाग तथा पेटका मांशपेशिको काम गरिन्छ ।
वर्कआउटसंगै उनले आफ्नो डाइटमा पनि विशेष ध्यान दिने गरेकी छिन् ।
भाग्यश्रीको इन्स्टाग्राम एकाउन्ट भित्र छिर्ने हो भने पनि उनका थुप्रै फिटनेस भिडियोहरु हेर्न सकिन्छ ।
उनले फिटनेसका लागि अभिनेत्रीद्वय शिल्पा शेट्टी र मलाइका अरोडालाई टक्कर दिइरहेकी छिन् ।
मैंने प्यार कियाबाट बलिउडमा डेब्यू गर्ने यी अभिनेत्रीले हिमालय दस्सानीसंग सन् १९९० मै विवाह गरेकी थिइन् ।
विवाहपछि उनी फिल्ममा कमै देखिइन् ।
उनी छोरा अभिमन्यु तथा छोरी अवन्तिका दस्सानीकी आमा हुन् ।