कपोल कल्पित र भ्रामक प्रचारको पछि नलाग्न ग्रामिण सुधारको आग्रह - Khabar Nepali
  • आइतबार, असोज ०४, २०७७

कपोल कल्पित र भ्रामक प्रचारको पछि नलाग्न ग्रामिण सुधारको आग्रह

मोरङ- समूहलाई बदनाम गर्ने तथा काम गर्न नदिने उदेश्यले विभिन्न निकायमा उजुरीको साथै प्रचारमा लागेको भन्दै कपोल कल्पित भ्रामक कुरामा नलाग्न मोरङ कानेपोखरी गाउँपालिका स्थित ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताहरुलाई आग्रह गरेको छ । समूहले २१ लाखको फर्जी मिलाउन लागेको भन्दै उजुरीको साथै ३ नम्बर क्षेत्रीय समितिको संयोजक प्रचारमा लागेपछि सुक्रबार मूल समितिले कार्यलयमै पत्रकार भेटघाटको आयोजना गरि सो बिषयमा जानकारी गराएको हो ।

आन्तरिक किचलोको कारण एकातिर एक करोडको काठ घाटगद्दीमै कुहिन लागेको छ भने अर्कोतिर घर निर्माण तथा मर्मत गर्ने उपभोक्ताहरुले काठ पाएका छैनन । पटक पट्कको समस्याको कारण दाउरा वितरणम्म गर्न नपाएको समूहको अध्यक्ष नवीन राईले बताए । विभिन्न निकायमा बेनामे उजुरी परेपछि अनुसन्धानको कारण करिव तीन बर्ष अघिदेखि काठ उपभोक्तालाई वितरण गर्न पाएका छैनन । २०७६ अशोज १० गते भएको १९ औं साधारण सभाबाट निर्वाचित नयाँ समितिले घाटगद्दीमा कुहिन लागेको काठ उपभोक्तालाई वितरणको प्रक्रिया मिलाउदै प्रयास गरेका थिए ।

 

समूहको ३ नम्बर क्षेत्रीय समितिको संयोजक शेरबहादुर लिम्बूले नै डिभिजन वन कार्यालय मोरङमा उजुरी दिएपछि उपभोक्तालाई काठ वितरण फेरि ढिला भएको मूल समितिको अध्यक्ष नवीन राईले बताए । डिभिजन वन कार्यालयमा करिब २१ लाख रुपैयाँको “फर्जी बिल” मिलाउन लागेको भन्दै गलत सूचनाको आधारमा उजुरी परेको मूल समितिको भनाई छ ।

नवीन राई अघिल्लो कार्यकालको पनि अध्यक्ष हुन । गत साधारण सभाबाट पुन अध्यक्षमा चुनाव लडेरै निर्वाचित भए । ग्रामिण सुधारमा मूलको मातहतमा तीन वटा क्षेत्रीय र आठ वटा वडा समिति रहेको छ । मूल समितिको १९ औं साधारणसभा दुई पटक साधारण सभा र तीन वटा क्षेत्रीय समितिको समेत चुनाव गराउनु परेको अध्यक्ष राईले बताए ।

मूल र क्षेत्रीय समितिको चुनाबै भएको साधारण सभा, सभा अघि र पछि वनमा काम गर्ने मजदुरको रकम तथा वनको काम गर्दा समिति तथा उपभोक्ताहरुले खाएको खाना, नास्ताको करिव २१ लाख ॠण रहेको लेखा समिती संयोजक बिजयगोपाल गड्तौलाले बताए ।

पुरानो समितिको एकाएक विल, भर्पाइ हेरेर उक्त रकम तिर्नु रकम तिर्नुपर्ने दायित्वमा राखिएको संयोजक गड्तौलाको भनाइ छ । सोही हिसाबको फर्जी बिल भन्दै उजुरी परेपछि उपभोक्ताहरुले तत्काल काठ नपाउने अवस्था आएको उनले बताए ।

यद्यपि डिभिजन वनको आदेशमा सब डिभिजन वन कार्यालय कानेपोखरीले पठाएको पत्रको जवाफ दिइ सकेको समितिले जनाएको छ ।

पुरानो समितिले बुझाएको सम्पूर्ण हिसाबको बिल भर्पाइ एकाएक हेरेर समितिले निर्णय लेखिएको सचिव शान्ता माझीले बताइन । समितिमा आएको कुन बिल वा भर्पाइमा शंका भएको हो हेरौं र त्यो बिल कहाँबाट आएको हो जाउँ भन्दा पनि नमानि ३ नम्बर क्षेत्रीय अध्यक्ष शेरबहादुर लिम्बूको उजुरीको कारण आम उपभोक्तालाई असर परेको मूल समुहको पूर्ब उपाध्यक्ष तथा वर्तमान सदस्य कृष्ण थामिको भनाई छ । चित्त नबुझे कार्यालयमा आएर हेर्न सकिने उनको भनाई छ न

समितिको निवर्तमान कोषाध्यक्ष होम खरेलले २०७३ मा आफूहरु निर्वाचित भएर आउदा समिती ॠणमै जिम्मा लिएको पटक पटक उजुरी परिरहेको कारण राम्रोसँग काम गर्न नपाएको बताउछन ।

ठूलो समूह भएको कारण खाना, नास्ता खर्च खर्च बढी देखिए पनि काम गर्ने र खाने कुरामा उजुरी कर्ता शेरबहादुर लिम्बू पनि सँगसँगै रहेको खरेलको भनाई छ । लिम्बू भने हिसाब चित्तबुझ्दो नभएकैले निबेदन लगाएको बताउछन ।

मूल समितीले २१ लाखको फर्जी बिल बनाएको भन्दै उजुरी तथा उपभोक्ताहरुमा “भ्रामक” हल्ला फैलाएको भन्दै ग्रामिण सुधार सामुदायिक वनको मूल समितिले सुक्रबार (जेठ १६) आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

समितिले वितरण गरेको बिज्ञप्तिमा भ्रामक हल्लाको पछि नलाग्न सुझाउदै यथार्थ खर्च भएको मात्र हिसाब राखिएको उल्लेख छ । त्यो हिसाबमा लकडी कटानी धुवानी, साधारण सभा लगायतको हिसाब रहेको उल्लेख छ । नयाँ समिती आएपछि भएको वृक्ष रोपन समेतको खर्च भएको अध्यक्ष नवीन राईको भनाई छ । समितिलाई काम गर्न नदिन भ्रम फैलाउनुको साथै समूहकै बद्नाम गर्ने मनसायले प्रचार भइरहेकोले झुटा हल्लामा नलाग्न उपभोक्ताहरुलाई बिज्ञाप्ति मार्फत अनुरोध गरेको छ ।

बिज्ञप्तिमा अध्यक्ष नवीन राई, सचिव शान्ता माझी, कोषाध्यक्ष देबेन्द्र थापा, लेखा समिती संयोजक बिजयगोपाल गड्तौला, १ नम्बर क्षेत्रीय समिती संयोजक केदार राई, २ को दीपक लिम्बू, ३ नम्बर क्षेत्रको सह संयोजक जितबहादुर राईको हस्ताक्षर रहेको छ । भेटघाटमा सबै उपस्थित रहेका थिए ।

पत्रकार भेटघाट कार्यक्रममा समितिको अधिकांश पदाधिकारी सदस्यहरु, ७ नम्बर वडा अध्यक्ष मोहन अधिकारी लगायतको उपस्थिति रहेको थियो । त्यहाँ उपस्थित समूहको कर्मचारी हिम तिम्सिनाले पास नहुने विल भर्पाइ कार्यालयले कहिले पनि नलिने गरेको बताए । उनले कार्यालयमा आएका बिल, भर्पाइ फर्जी नभएको बताए ।

ग्रामिण सुधार ८३९.२२ हेक्टर क्षेत्रफल रहेको छ । यो मोरङ जिल्लामै सबभन्दा ठ्लो हो । क, ख र ग वर्ग गरि ६ हजार उपभोक्ता रहेको छ ।

आर्हिक बर्ष २०७४/०७५ मा ३२ हजार किबि साल लगायतको काठ काटेर घाटगद्दीमा राखिएको थियो । करिव ११ हजार उपभोक्तालाई वितरण भएपछि किचलो सुरु भयो । अहिले करिव २१ हजार किबि काठ लामो समयदेखि घाटगद्दीमै रहेको छ । काठ जति राख्यो उति गुणस्तर खस्किन्दै जान्छ ।

करोड भन्दा बढी मुल्य पर्ने काठ आन्तरिक किचलोको कारण पटक, पटक रोकिन्दै आएको छ । स्थिति हेर्दा सबै मिलेर उक्ता कुहिन लागेको काठ उपभोक्तालाई वितरण गर्नुपर्ने देखिन्छ । समस्या समिती भित्र अनि असन्तुष्ट पक्षको गुनासो छलफल गरेर मिलाउनु पर्ने देखिन्छ । पदाधिकारीहरु जिम्मेवार पूर्ण ढंगले नलाग्ने र को भन्दा को कमको स्थिति रहिरहे ग्रामिण सुधार सामुदायिक वनको उपभोक्तालाई मात्र होइन समुहलाई नै गम्भीर क्षति हुनसक्छ ।

सम्बन्धित खवर