युवा कुखुरापालनमा रमाउँदै - Khabar Nepali
  • शनिबार, मङि्सर १३, २०७७

युवा कुखुरापालनमा रमाउँदै

पाँच वर्ष कोरिया बसेर फर्कनुभएका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । विदेशको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा भविष्य देखिरहनुभएको छ ।
बागलुङ नगरपालिका–४ पाखाथरका ३३ वर्षीय जिसीले सात महिनाअघि रु आठ लाख लगानीमा ‘जेनिसा पोल्ट्री फार्म’ सञ्चालनमा ल्याउनुभयो । “परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय शुरु गरेको हुँ”, उहाँले भन्नुभयो ।
उहाँको ‘फार्म’ को क्षमता एक हजार कुखुरा अट्ने रहेको छ । जाडो मौसम भएकाले अहिले ५५० मात्र ‘ब्रोइलर’ जातका कुखुराका चल्ला हुर्कंदै छन् । “यसअघि दुई लट कुखुरा बेचियो, राम्रो आम्दानी भयो”, उहाँले भन्नुभयो । उहाँले पछिल्लो समय उचित मूल्य र बजारको सुनिश्चितता भएमा व्यवसायमा लगानी बढाउने सोच सुनाउनुभयो । उहाँलाई श्रीमती जेनिसालगायत परिवारका सदस्यले व्यवसायमा सघाउँछन् ।
जिसी परिवारले घरमा बसीबसी उद्यम गरेको देख्दा आफन्त, छिमेकी औधि खुशी छन् । उहाँको नजिक वैकुण्ठ उपाध्यायको कुुखुरा ‘फार्म’ छ । उहाँले पनि गत वर्षदेखि सो व्यवसाय शुरु गर्नुभएको थियो । वडा नं ३ रातमाटाका उहाँले पाखाथरमा रहेको छिमेकीको जग्गा भाडामा लिएर ‘फार्म’ सञ्चालनमा ल्याउनुभएको थियो । उहाँले अहिले वार्षिक रु ६० हजार भाडा तिर्नुहुन्छ । करिब रु सात लाख लगानीमा उहाँले दुई हजार कुखुरा अट्ने आधुनिक खोर निर्माण समेत गर्नुभएको छ । उहाँले ‘ब्रोइलर’ कुखुरा पाल्दै आउनुभएको छ ।
रातमाटाकै ३६ वर्षीय विजय शर्मा विसं २०६१ देखि कुखुरापालन व्यवसायमा सम्लग्न हुनुहुन्छ ।उहाँको घर व्यवहारदेखि, बालबच्चाको पढाइसम्म सोही व्यवसायबाट धानिएको छ । ‘फार्म’मा अहिले एक हजार कुखुरा छन् । रु ४५ हजारबाट शुरु गरेको कुखुरापालन व्यवसायमा लगानी बढेर रु १२ लाख पुगेको छ । उहाँले अहिले आधुनिक खोर बनाएर कुखुरापालन गरिरहनुभएको छ । वर्षमा छ ‘लट’ कुखुरा तयार हुन्छन् । एकपटकमा झण्डै रु ६० देखि ७० हजारसम्म मुनाफा निस्कन्छ । बजार मूल्यमा आउने उतारचढावले कहिलेकाहीँ आम्दानी घटबढ हुन्छ । अहिले जिउँदो ‘ब्रोइलर’ कुखुरा प्रतिकिलो रु २३० मा बिक्री भइरहेको छ ।
रातामाटाकै युवा वैकुण्ठ सापकोटा एक वर्षदेखि कुखुरापालन व्यवसायमा रमाइरहनुभएको छ । उहाँको ‘सापकोटा कृषि फार्म’मा स्थानीय ‘साकिने’ जातका ८०० कुखुरा छन् । कुखुरापालनबाट उहाँले मासिक रु ५० हजार कमाउनुहुन्छ । “कुखुरासँगै चल्ला र अण्डाको पनि उत्तिकै माग छ”, उहाँले भन्नुभयो, “उत्पादन गर्न सके बजारको कुनै समस्या छैन ।” काठमाडौँ, हेटाँैडा, कपिलवस्तु र पोखराका ‘ह्याचरी’ बाट अण्डाको माग आउने गरेको छ । घरायसी प्रयोगका लागि अण्डा माग गर्नेको सङ्ख्या पनि बढ्दो छ ।“अहिले गाउँगाउँबाट पनि चल्लाको माग आइरहेको छ”, उहाँले भन्नुभयो, “स्थानीय जातका कुखुरापालननमा विस्तारै आकर्षण बढ्दैछ ।” स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताले रुचाएका हुन् । सदरमुकाम बागलुङ बजारमा होटल, रेष्टुराँमै मासुको रुपमा कुखुरा बढी खपत हुन्छ ।
अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । ज्यूँदो कुखुरा प्रतिकिलो रु ७०० मा बिक्री हुने गरेको सापकोटाको भनाइ छ । अण्डा रु १५ र एक साताको चल्ला रु १२५ मा बिक्री हुँदै आएको छ । रातामाटाकै रमेश र दिनेश सापकोटा पनि कुखुरापालनमा व्यस्त हुनुहुन्छ ।
सापकोटा दुई भाइ मिलेर एक हजार ‘ब्रोइलर’ कुखुरा पाल्दै आउनुभएको छ । कुखुरापालन व्यवसाय फस्टाउँदै जान थालेपछि रोजगारी पनि सिर्जना हुन थालेको छ । मासिक ज्यालादारीमै भए पनि श्रमिकले काम पाएका छन् । रातामाटा र पाखाथर छुट्टाछुट्टै वडामा परे पनि एकापसमा जोडिएका गाउँ हुन् ।
दुवै गाउँका युवा मेहनत र लगावका साथ व्यावसायिक कुखुरापालनमा लागेपछि वरपरका धेरैले प्रशंसा गर्न थालेका छन् । सदरमुकामसँग जोडिएका कारण कुखुरालाई बजारको समस्या छैन । लगानी सुरक्षाको लागि सही मूल्य, बजार व्यवस्थापनसहित सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग पाउनुपर्ने युवा उद्यमीको माग छ ।

सम्बन्धित खवर