चारोवादीका प्रवासी दुख - सन्तोष चिमोरियाको व्यंग्य - Khabar Nepali
  • शनिबार, असार २७, २०७७

चारोवादीका प्रवासी दुख – सन्तोष चिमोरियाको व्यंग्य

हिउँद लागेपछि साइबेरियातिरबाट प्रवासी चराहरु, न्यानो र चारो खोज्दै दक्षिणी एसिया झरे जस्तै, म, मेरी पोथी र हाम्रो बचेरोसहित यहाँ आइपुगेको पनि ६ महिना पूरा भएछ । आइमिन अम्रिका आइपुगेको ६ महिना पूरा भएछ ।

चरो र चारोको सम्बन्ध जुन छ, त्यो संसारका सबै सम्बन्ध भन्दा माथी छ । अपरिहार्य र जीवनपर्यन्त छ किनभने, गोजेरो र गाँड भर्न चारो अनिवार्य शर्त हो । यो दिब्यज्ञान प्राप्त गरिसकेपछि चारोको खोजीमा मैले पखेटा हालेको यो दोस्रोपटक थियो । यो भन्दा अगाडी मध्यपुर्बको तातो खाडीमा मैले एक दशक चारो टिपिसकेको थिए । त्यसैले म एक कटिबद्ध चारोवादी चरो हुँ । आइमिन चारोवादी मान्छे हुँ भन्दा फरक पर्दैन ।

हेर्नुस् ! सर्बहारावादी, मार्क्सवादी, समाजवादी, साम्यवादी, गणतन्त्रवादी, राजावादी, लोकतन्त्रवादी, हिन्दुवादी, राष्ट्रवादी जस्ता एकसेएक वादीहरु जन्मिएको देश र युगमा जन्मिएर पनि, मलाई आफु चारोवादी मात्रै हुँ भन्नु पर्दा ठूलो लघुताभाष हुन्थ्यो बेला बेला । बडा बडा महापुरुषहरुका अगाडी आफुलाई एकदम लघुपुरुष भए जस्तो लाग्छ तर म यी सबै महान् महान् वादीहरु हुन मन नलागेर आफ्नो मात्रै गाँड भर्न निस्किएको चारोवादी भएको होइन । म यी सबै हुन नसकेर, सीप नपुगेर, आँट नपुगेर, ढंग नजानेर, पार नलागेर मात्रै चारोवादी भएको हुँ ।

र, यसरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले मनाउने भ्रमणबर्ष सन् २०२० सुरु भएसँगै म चारोवादी भएर उड्न थालेको डेड दशक पूरा भएको छ ।

यो भन्दा अगाडि भने म पुरै गैर-चारोवादी खेमामा थिए । अर्थात म पनि माक्र्सवादी, सर्बहारावादी, समाजवादी, राष्ट्रवादी, लोकतन्त्रवादी, क्रान्तिकारी कित्तामा थिएँ । म क्यारेमका गुटि हान्दै, कसरी गाउँहरुलाई आधार ईलाका बनाएर माओले चीनमा साम्यवाद ल्याए, कसरी विस्तारवादी र साम्राज्यवादी मिलेर मदन भन्डारीलाई खोलामा हाले, कसरी र किन नेपालमा सर्बहारा वर्गको शासन व्यवस्था नभई हुदैन भनेर दिनभरी चौकमा प्रशिक्षण हाकेर बिताई दिन सक्थे ।

त्यतिमात्र होइन, त्यो बेला प्रचण्ड हुम् भन्ने पुष्पकमल दाहाल, लालध्वज हुम् भन्ने बाबुराम भट्टराई र खै कुन्नि के हुम् भन्ने कृष्णबहादुर महरा जस्ता नेताहरू किन महान् क्रान्तिकारी, जनवादी, सर्बहारा र जनताका नेता हुन् र ज्ञानेन्द्र शाह र पारस शाहहरु चाहिँ किन क्रुरतम तानाशाह हुन् भनेर प्रमाणित गर्न मसँग भयानक भयानक १०१ थान तर्कहरु हुन्थे तर जसै पर्दाहरु खस्दै गए र एकपछि अर्को दृश्यहरु मञ्चन हुँदै गए, अभिनय गरिरहेका पात्रहरु खुईलिदै गए ।

अनि ति आफ्नो वास्तविक चरित्रमा तछाड मछाड गर्दै प्रकट हुन थाले । यस्तो दृश्य देखेपछि मेरो वर्तमान मै तिर फर्किएर बेस्सरी हास्न थाल्यो र मेरो भबिष्य डाको छोड्न थाल्यो । त्यो हसाई र त्यो डाको छोडाईले म झसंग भए । मलाई आफू उपयोगमा परेको अनुभव भयो । आफू सिँढी मात्रै भएजस्तो लाग्यो । त्यति मात्रै लागेन, मलाई आफू संसारको सबैभन्दा पट्मुर्ख हुँ जस्तो लाग्यो । त्यही दिन मैले महानहरुको पिछ्लग्गु हुन छाडेर आफ्नै र आफ्नाहरुको पेट र चारोमा ध्यान केन्द्रित गर्न थाले । यसरी ध्यान्स्थ मुद्रामा केहि दिन घर बसेपछी मलाई अचानक भगवान गौतम बुद्धलाई जस्तो ज्ञान प्राप्त भयो । अचानक प्राप्त भएको ज्ञानले, संसार बदल्छु भन्ने हावादारी कुरा छाड् सन्ते, गाँड/गोजेरो भर्न तिर लाग् सन्ते ! भनेर आकासवाणी गर्यो । अनि मलाई पनि हो जस्तो लाग्यो ।

यसरी लाग्ने बित्तिकै पेटको भोक र साहुको ऋण बढी महत्वका र बतासे वादहरु कम महत्वका लाग्न थाले । चारो अपरिहार्य र नाराहरु ललिपप झै लाग्न थाले । अनि मैले प्रशिक्षणमा जान, हातमा गोबर बोकेर पोस्टर टाँस्न, ढुंगा हान्न र नारा लगाउन, जिन्दावाद र मुर्दावाद भन्न अस्विकार गरे । बरु मैले खाडीको ५० डिग्री तापक्रम स्वीकार गरे र पन्ध्र बर्ष अगाडी म पखेटा हालेर चरो बने । जुन दिन मैले पखेटा हालेर चरो बने, म अरु सबै वादहरु त्यागेर चारोवादी बने र आजपर्यन्त चारोवादी नै छु । यति सोचिसके पछि आजकल मलाई आफु चारोवादी मात्रै भएकोमा महापुरुषहरुका अगाडी उस्तो लघुतावास हुँदैन ।

तर हेर्नुस ! प्रवासी पंक्षी भएर चारो मात्रै जुटाउन पनि सजिलो भने छैन । देश बदल्न, भेष बदल्न र भाषा बदल्न कहाँ सजिलो हुन्छ र !

नयाँ गुण, नयाँ परिवेश, नयाँ संसारमा – सबथोक नयाँ छ । दाह्री जुंगा फुल्दै जान लागेका बेला भर्खरै जन्मिएको जस्तो हुनुको पिडा भनि नसक्नु छ । हो, अहिले म भर्खरै जन्मिए जस्तो भएको छु । म ६ महिनाको भएको छु तर भोक लाग्दा दूध चुसाउने आमा छैनन् । रुँदा फकाउने बाउ छैनन् । ६ महिने अधबैंसे शिशु आफै बाँच्नु छ र थप दुई थान ज्यान अरु पाल्नु छ ।

क्रान्तिकारी, माक्र्सवादी, समाजवादी, लोकतन्त्रवादी जस्ता महान् वादीहरुका दुख पनि महानै हुन्छन् । उदेश्य नै महान् जुन छ उहाँहरुको । महान् उदेश्य प्राप्त गर्न छोरी, बुहारी, भाइ, सालो सबैलाई मेयर, मन्त्री, राजदुत बनाएर काममा जोताउनु भएको छ । बिचरा उहाँहरु पनि बाउ, दाजु, ससुरा, भिनाजुको समृद्धि ल्याईदिन नाईनास्ती नगरी काममा जोतिई रहनु भएको छ । रेल ल्याउनु छ, पानी जहाज ल्याउनु छ । पानीजहाज आएपछि चलाउन मिल्ने समुन्द्र ल्याउनु पर्ने हुनसक्छ । सिन्धुपाल्चोकको मेलम्ची खोलो डोकामा बोकेर काठमाडौ झार्नु छ ।

मलाई थाह छ, यी महान् दुखका अगाडि मेरो दुख कहन योग्य पनि होइन तर म र म जस्तै गाँड र गोजेरो भर्नकै लागी मात्रै बाँचिरहेका लघुपुरुषहरुका दुखहरु पनि त कहिँ न कहि बिसाउन त परो । खासमा आज म आफ्ना तिनै झिनामसिना, ससाना त तुच्छ दुखहरु बिसाउ भनेर आएको हुँ ।

यो नयाँ ठाउँको नयाँ जन्ममा सबैभन्दा दुख अंग्रेजीको छ । अंग्रेजीको दुख अर्कोपटक लेखुँला ।

सम्बन्धित खवर