कोर्सका भन्दा साहित्यका किताब बढी पढें - Khabar Nepali
  • शनिबार, मङि्सर १३, २०७७

कोर्सका भन्दा साहित्यका किताब बढी पढें

वीरगन्जमा जुनेली पुस्तकालय थियो । पुस्तकालयमा किताबहरू प्रशस्त थिए । आवश्यक परे पुस्तकालयले किताब मगाउँथ्यो पनि । यो पुस्तकालयमा उपलब्ध रहेको साहित्यिक किताब उनले खुब पढे । 

यसै पुस्तकालयले हस्तलिखित भित्ते पत्रिका पनि प्रकाशित गथ्र्यो । यही पत्रिकामा उनको कविता पहिलो पटक छापियो । प्रकाशनका दृष्टिले यो उनको पहिलो प्रकाशन थियो । 
यो प्रसंग २०१५ साल तिरको हो । डा. धु्रवचन्द्र गौतम (७५)ले कवितामा कलम चलाउन सुरु गरिसकेका थिए । उनले कविता लेख्ने मात्रै नभएर स्थानीयस्तरमा हुने कवि गोष्ठीहरूमा कविता वाचन पनि गर्दै आएका थिए । 

अर्थात् उनको लेखनको सुरुआत वीरगन्ज हुँदा नै भयो । किशोरकालमै भयो । त्यस बीचमा उनले उपन्यासमा कलम घोटे । २०१८ सालदेखि नै उनले उपन्यास लेख्न थालेका हुन् । 
एउटा उपन्यास लेखे । शीर्षक दिए “चार सौ ग्राम मुटु” । तर उनलाई लाग्यो उपन्यास त्यति स्तरीय भएन । बलियो छैन । त्यसलाई बीचैमा छाडे ।

वुधबार चुनदेवीस्थित निवासमा सहकर्मी सौरभ रानाभाटसँग पुग्दा वरिष्ठ आख्यानकार डा. धु्रवचन्द्र गौतम आफ्ना पुराना कुरा सम्झिँदै थिए । उनी भन्दैथिए, “मेरो कविता पहिलो पटक प्रिन्टेडरुपमा लखनउको पत्रिका “उत्कर्ष”मा प्रकाशित भएको हो । कविता हिन्दी भाषामा थियो, “परिचय की विरक्ति” । टिप्पणी सहित छापिएको थियो यो कविता । भारतका प्रख्यात कवि सर्वेस्वर दयाल शर्माले तिमीसंग कविता भए पठाउ भनेपछि मैले पठाएको थिएँ ।”

यो कविता २०१९ सालमा छापिएको थियो । त्यस अघि डा. गौतम भारतीय प्रकाशन गृहबाट पुस्तकहरू मगाई रहन्थे । रक्सौल गएर पठाएको किताबहरू कलेक्ट गर्थे । 
बेलाबखत वीरगन्ज जाँदा उनी स्कूलमा पढाउँथे पनि । पढाए वापत अलिअलि पैसा पनि आउँथ्यो । त्यो पैसाले उनी किताब र पत्रिकाहरू नै किन्थे ।

डा. गौतमले कवि सर्वेस्वर दयाल शर्माको कथा “पागल कुत्तोका मसिहा” पढे । “कल्पना” पत्रिकामा प्रकाशित भएको थियो यो कथा । कल्पना स्तरीय पत्रिकामा दरिन्थ्यो । यो कथा उनलाई अनुवाद गर्न मन लाग्यो । उनले सर्वेश्वर दयाल शर्मालाई चिठी लेखेर अनुवादका लागि अनुमति मागे । 

सर्वेश्वर दयालले पनि अनुवादको अनुमतिसँगै तिम्रो कविता पठाउ भने । यसरी पत्रिकामा पहिलो पटक प्रकाशित भए धु्रवचन्द्र । यो कविता छापिएको पत्रिकाको उनीसंग रहेको प्रति हरायो । उनी खोज्नलाई लखनउ नै पुगे । तर भेटेनन् ।

नेपाली छापामा भने उनको पहिलो कविता त्यसबेलाको चर्चित साहित्यिक पत्रिका रुपरेखामा प्रकाशित भयो । गौतम वीरगन्जमै थिए । कवि भूपी शेरचन वीरगन्ज आएका थिए । त्यहाँ आयोजना गरिएको कार्यक्रममा गौतमले कविता सुनाए । 

कार्यक्रम पछि भूपीले धु्रवचन्द्र गौतमलाई आफ्ना कविता रुपरेखामा पठाउन भने । उनले “तटस्थता असफलता” शीर्षकको कविता हेर्न दिए भूपीलाई ।
भूपीले उत्तम कुँवरको नाममा एउटा चिठी लेखिदिए । उनी भूपीको चिठीसहित कविता लिएर रुपरेखाको अफिस पुगे । चिठी र कविता दुबै बालमुकुन्ददेव पाण्डेलाई बुझाए । यसरी उनको नेपाली कविता पहिलो पटक २०२० साल बैशाखमा रुपरेखामा प्रकाशित भयो । 

डा. धु्रवचन्द्रले एउटा अर्को प्रसंग सुनाए । सुनाउँदा सुनाउँदै उनको मुहारमा मुस्कान फैलियो । भने, “त्यस अघि पनि म रुपरेखाको अफिसमा कविता लिएर एक पटक पुगेको थिएँ । बालमुकुन्ददेव पाण्डेलाई नै कविता दिएँ । पाण्डेले नयाँ कविहरूले कविता लेख्ने स्तम्भ आँकुरा जस्तोमा कविता छाप्ने कुरा गरे । अनि म कविता नदिएरै फर्किएँ ।” 
रुपरेखामा कविता प्रकाशित भए पछि खुशी लाग्नु स्वाभाविक थियो । यसै क्रममा उनको सम्पर्क उत्तम कुँवरसंग भयो । त्यस पछि उनको रचना रुपरेखामा नियमित प्रकाशित हुन थाल्यो । 

त्यसको केही समय पछि रुपरेखामै उनको एउटा कथा छापियो “एक यात्रानुभूति” शीर्षकमा । यसरी उनको लेखन यात्रा अगाडि बढ्दै गयो । 

उत्तम कुँवरसँग चिनापर्चीसँग सम्वन्ध पनि राम्रो हुँदै गएको थियो । रुपरेखाको लेखकमा रुपमा धु्रवचन्द्र दर्ता भए ।

भारतबाट प्रकाशित हुने डाइजेष्ट पत्रिका नवनितले पत्रिकामा कहिले काँही एउटै अंकमा उपन्यास नै छाप्दथ्यो । त्यसकै प्रभाव स्वरुप रुपरेखाले पनि एउटा उपन्यास छाप्ने भयो । 
उत्तम कुँवरले गौतमलाई सोधे “उपन्यास लेख्न सक्नुहुन्छ ?”

गौतमले पनि “लेख्न सक्छु” भने । त्यसबेला उनले एउटा उपन्यास लेख्न सुरु गरिसकेका थिए । यसरी उनले उपन्यासमा मिहिनेत गर्न थाले ।

डा. गौतमका अनुसार २०२३ सालमा झापामा वृहत्त साहित्य सम्मेलन भएको थियो । गौतम पनि बोलाइएका थिए । झापा जाँदा लेख्दै गरेको उपन्यास बोकेरै गए । मौका मिल्यो कि उनी उपन्यास लेख्न भ्याउँथे । एक दिन जगदिश घिमिरेले भनेछन् “के लेख्दै हुनुहुन्छ ? देखाउनुस् न ।” तर उनले देखाएनन् । 

त्यो उपन्यास “अन्त्य पछि” रुपरेखामा प्रकाशित, २०२४ सालमा । कतिले त्यो उपन्यास बुझिएन पनि भने । उनले त्यसमा केही नयाँ प्रयोग गरेका थिए । त्यसैले पनि त्यस्तो भएको हुनसक्ने उनको भनाई छ ।

डा. गौतम भन्छन्, “त्यो अंकमा भूपीको चर्चित कविता “हल्लै हल्लाको देश” पनि छापिएको थियो । त्यो कविता व्यापक चर्चित भयो । त्यही अंकमा मेरो उपन्यास पनि थियो । उपन्यास कति चल्यो चलेन त्यो बेग्लै कुरा हो । तर मेरो उपन्यास लेखन यात्रा यहीँबाट सुरु भएको हो ।”   

आख्यानकार डा. धु्रवचन्द्र गौतमको बाल्यकाल सीमावर्ती नगर वीरगन्जमा बित्यो । उनको सारा सम्झना वीरगन्जसँग जोडिएको छ । आज पनि उनी वीरगन्जसँग गाँसिएका छन् । कुमालटोलमा उनकोे घर थियो ।

उनका अनुसार २००९ सालदेखि नै वीरगन्ज नगरकारुपमा विकसित थियो । त्यो भन्दा अगाडि नगरपालिकाको स्वरुपमा थियो वा थिएन, उनलाई थाहा छैन । अहिले त महानगरपालिका भइसकेको छ, वीरगन्ज ।

डा. गौतमका अनुसार पहिलेको वीरगन्जमा ग्रावेल सडकहरू मात्र थियो । एक नम्बर दुई नम्बर सडक भनिन्थ्यो । माइथानको रोडलाई एक नम्बर सडक भनिन्थ्यो । सडक छेउमै स्कूल थियो । नगरपालिकाको रोलर बेलाबेलामा चलिरहन्थ्यो सडकमा । रोलरले सडकमा पानी हालेर सम्याई रहन्थ्यो ।

गौतम पनि आफ्ना साथीहरूसित रोलर हेरेर बसिरहन्थे । यसरी रोलर हेर्न रमाइलो लाग्दथ्यो उनलाई । अहिलेको व्यापारिक इलाका आदर्शनगर त्यसबेला थिएन । खाली खेत थियो । आदर्शनगर तिर मोडिने ठाउँमा भने एउटा विशाल पिपलको रुख भएको उनलाई आज पनि सम्झना हुन्छ ।

वीरगन्जमा २००८ सालमै बिजुलीको व्यवस्था भएको थियो । बिजुलीको पावर हाउस स्थापना गरिएको थियो । त्यही पावर हाउसमा उनका पिताजी पनि काम गर्थे । त्यहाँ रहेको क्वाटरमा पनि उनको बाल्यकालको केही समय बितेको छ । 

वीरगन्ज–अमलेखगंज रेलको सम्झना वरिष्ठ आख्यानकार डा. गौतमलाई आज पनि हुन्छ । उनका अनुसार वीरगन्जको रेल यदि अब कतै पाइन्छ भने उनका जेठा दाजुको चर्चित उपन्यास “घामका पाइलाहरू”मा मात्रै पाइनेछ । 

डा. गौतम रेलको कुरा गर्दैगर्दा उहिलेको वीरगन्ज कथामा हराए । उनी भन्छन्, “अहिले त लिक पनि हराउँदै गएको छ । लिक पनि शहरीकरणले खाएको छ ।” 
वीरगन्ज बजार सोझो थियो । रेल्वे लिक जस्तै । सायद लिकको छेउछेउ नै बजार बसेको थियो । बस्ती विकास नै त्यसरी भएको थियो । त्यसैले पनि सोझो सहर बनेको उनको भनाई छ । 

रेल्वे नोस्टाल्जिया धेरै छ उनमा । आज पनि रेल मीस गर्छन् उनी । मिसिङ प्वाइन्ट नै हो जस्तो लाग्छ उनलाई । 

रेल रमाइलो साधन थियो । पहिलेपहिले रेल चढदा पैसा लाग्थेन । उमेर पनि सानै थियो । त्यसैले पनि रेलमा टिकट काट्नु पर्दैनथ्यो । कहिले काँही चिनेका मानिस भेटिन्थे । टिकट लिनै पर्थेन । कहिले त ठूला मानिसले पनि टिकट काट्थेनन् । 

रक्सोल नजिकको सिर्सिया नजिक रेल्वेको लिक मोडिएको थियो । त्यो मोडमा रेलको गति कम हुन्थ्यो । त्यसैबेला धेरै जसो मानिस रेलबाट ओर्लिन्थे । सायद ति ओर्लिनेहरूसित टिकट हुन्थेन होला ! 

उनका अनुसार ठूलाको देखासिकी उनी र उनका साथीहरू पनि त्यही सिर्सिया मोडमा ओर्लिन्थे । सामान्यतया रक्सोलमा सिनेमा हेर्न जाँदा मोडमा रेलबाट झर्थे र हिँडेरै सिनेमा हलसम्म पुग्थे । उनीहरूलाई त कसरी हुन्छ, रमाइलो गर्नु थियो । 

रेलको सम्झना गर्दै आख्यानकार गौतम भन्छन्, “सात वटा इन्जिन थियो रेल्वेको । मलाई आज पनि सम्झना छ, ३ नम्बर र ७ नम्बरको इन्जिन एउटै प्रकारको थियो । त्यो छरितो लाग्थ्यो मलाई । सानो भए पनि राम्ररी डिब्बा खिच्थ्यो । ठूलो इन्जिन अलिक गति कम थियो जस्तो मलाई अनुभव हुन्छ ।” उनको घर पनि रेल्वे लाईन छेउमा थियो । बिहान ठीक साँढे आठ बजे उनको घर अघिल्तिरबाट रेल अमलेखगंज जान्थ्यो । चार बजे तिर फर्किन्थ्यो । घर छेउमा जेल पनि थियो । त्यसैले वीरगन्जको कुरा गर्दा उनी जेल र रेल सँधै सम्झिन्छन् । 

एक पटक रेल दुर्घटनामा प¥यो । इन्जिन पल्टिएको उनले पनि देखेका हुन । ठूलो इन्जिन साङ्लो उँत्तानो परे जस्तै उत्तानो परेको उनको सम्झनामा अहिले पनि छ । 
उनी पाँच सात वर्षको हुँदैदेखि वीरगन्ज व्यावसायिक नगरकारुपमा विकसित हुँदै गएको हो भन्ने उनलाई लाग्छ । कपडाका व्यापारीहरु धेरै थिए । धेरै पछि मात्रै वीरगन्जले औद्योगिक शहरको रुप लिएको हो । 

उनी भन्छन्, “हुनत त्यसबेला सलाई फ्याक्ट्रीको स्थापना भइसकेको थियो वीरगन्जमा । मेरा पिताजी त्यही सलाई कारखानामा काम गर्नुहुन्थ्यो । सलाई फ्याक्ट्रीमा गएर मैले कैयौपटक सलाई बनेको हेरेको छु् ।”

स्कूलमा छँदा पढाईमा औसतभन्दा पनि मुनीको विद्यार्थी मान्छन् डा. गौतम आफूलाई । 

उनले हाँस्दै भने “पहिलो कुरा त के हो भने म पढाईमा औसतभन्दा पनि कम थिएँ । सबै विषयमा पास हुने विद्यार्थीलाई म तेज विद्यार्थी ठान्थेँ । किनभने मेरो कुनै न कुनै विषयमा रातो लागेकै हुन्थ्यो । वास्तवमा मैले कोर्सको किताबभन्दा बढी कोर्स बाहिरका किताब पढेँ । साहित्य र अन्य किताबहरूमा ध्यान दिएँ ।” 

बेलाबेलामा रातो गोलाको धक्का लागे पनि उनले घोकेर कहिल्यै पढेनन् । उनलाई घोक्न कहिले आएन । जे जति बुझ्थे त्यति लेख्थे । कहिले काँही त परीक्षामै पनि उत्तर पुस्तिका लेखेरै भर्थे । 

आए पनि नआए पनि पानाका पाना भर्थे । त्यसले नम्बर नआए पनि लेख्ने क्षमता र शील्पमा वृद्धि हुँदैगयो । 

वीरगन्जमा त्यसैबेला पुस्तकालयहरू स्थापना भइसकेका थिए । पुस्तकालयबाट दनादन् किताब ल्याउँथे र पढ्थे । रविन्द्रनाथ टेगोर, बंकिमचन्द्र चटोपाध्याय, शरदचन्द्रलगायत धेरै भारतीय लेखकहरूका साहित्यिक किताब उनले एसएलसी गर्नु अगाडि नै पढेका हुन् ।

उनले त्यो समयमा इब्ने सफी बिए, कर्नल रञ्जीत, कुशवाहा कान्त, देवकीनन्दन खत्रीका उपन्यासहरू पनि खुबै पढे । 

काठमाडौं आए पछि विदेशी लेखकका पुस्तकहरू पनि पढ्न थाले । पढ्न मनलागेको पुस्तक उनी छुटाउँदैनन् । कसरी हुन्छ खोजेरै भए पनि पढ्छन् ।

यसरी कोर्सको किताब तिर ध्यान नदिए पनि बाहिरी पुस्तक पढ्नमा उनी अगाडि नै रहे । त्यसबेला सबैले किताब किन्न सक्ने अवस्था थिएन । किताब साटासाट गरेर पढ्नु पर्दथ्यो । उनी एउटाको किताब अरु कसैका लागि पु¥याईदिनु पर्दा बीचको दुई तीन घण्टामा त्यो किताब आफूले पनि पढि सिध्याउँथे । त्यस पछि मात्रै किताब सम्वन्धित मानिस कहाँ पु¥याई दिन्थे । 

यस किसिमको किताब मोह थियो आख्यानकार डा. धु्रवचन्द्र गौतममा । त्यही किताब मोहले आफूलाई लेखक बनाएको उनी स्वीकार्छन् ।

कविता लेख्नुपूर्व धु्रवचन्द्र गौतम गीत गाउँथे । उनी १०–१२ वर्षका थिए । उनले स्कूलमा सरस्वती पुजामा हुने सांस्कृतिक कार्यक्रममा धेरै पटक गीत गाए । हिन्दी गीत गाएरै उनले वाहवाही पाए । यसरी उनको परिचय एउटा गायककारुपमा वीरगन्जमा बढ्दो थियो । उनको चर्चा हुनथाल्यो ।

वीरगन्जमा नाम चल्दै गयो । नयाँ स्वाद पाएका थिए उनले, चर्चाको । त्यस पछि उनले आफैले गीत लेखे । लय हाले । अनि गाए पनि । 
सायद यहीँबाट उनलाई लाग्यो, समाजमा चिनिने काम गर्नुपर्छ । त्यसैले उनी कविता र गीत लेखनमा लागे । कविता गोष्ठीमा कविता सुनाउँदै हिँडे । अर्थात किशोरकालमै धु्रवचन्द्र वीरगन्जमा चर्चित भए । 

२०१५ सालमा उनले एसएलसी पास गरे वीरगन्जको त्रिजुद्ध हाईस्कूलबाट । उनी उच्चशिक्षाका लागि काठमाडौं उक्लिए । दरबार हाइस्कुलबाट संचालनमा रहेको नेशनल कलेजमा आइएमा भर्ना भए । पहिलो वर्षको परीक्षा पनि दिए । 

त्यहीबीचमा उनी बिरामी परे र वीरगन्ज फर्किए । केही महिना आराम गरे । र, त्यसैबेला ठाकुरराम कलेजबाट उनले आइएको दोस्रो वर्षको पढाई गरे । र परीक्षा दिन काठमाडौं आए । 

त्यसबेला वीरगन्जमा सेन्टर थिएन । वीरगन्जका विद्यार्थीहरू परीक्षा दिन काठमाडौं नै आएका थिए । 

आख्यानकार डा. गौतमले बीए, एमए काठमाडौको त्रिचन्द्र र त्रिविवि कीर्तिपुरबाट पास गरे । 
२०२३ सालदेखि उनको भूमिका परिवर्तन भयो । उनी विद्यार्थी होइन, शिक्षक भए । रत्नराज्य गल्र्स कलेजमा पढाउन थाले । तर, उनको लेखनकर्म निरन्तर चलिनै रह्यो ।

लेखनको प्रारम्भमा उनले जे देखे, त्यही लेखे । कविता कथा मात्रै नभएर सानोसानो उपन्यास नै पनि लेखे । त्यो बेला आफूले चालु टाइपको उपन्यास लेखेको उनी बताउँँदै थिए ।
काठमाडौं आए पछि मात्रै उनलाई साहित्यमा प्रयोग पनि चाहिन्छ भन्ने ज्ञान भयो । र, त्यस पछि उनले आफ्नो लेखनलाई परिवर्तन गर्दै लगे । 

आज पनि उनि भन्छन्, “मलाई आउट बूक पढेर तत्काल घाटा लाग्यो होला । तर मेरो लेखकीय शैलीलाई यसैले उकासेको नै हो ।”

किताबको प्रसंगमा उनले वीरगन्जको एउटा प्रसंग सुनाए । रक्सोलमा दिलिप कुमारको देवदास फिल्म लागेको थियो । उनी एकजना मित्रसंग फिल्म हेर्न गए । छ आनामा शरतचन्द्रको उपन्यास “देवदास” पनि किने । तर फिल्म हेरेर फर्किँदा किताब हलमै छाडेर हिँडे । 

डा. गौतम भन्छन्, “आज पनि किताब हराउँदा मलाई दुःख लाग्छ । त्यसबेला देवदास हराउँदा पनि मलाई खुबै चित्त दुखेको थियो ।”

Via; barakhari

सम्बन्धित खवर