दक्षिणपन्थ र साहित्य - Khabar Nepali
  • आइतबार, माघ ११, २०७७

दक्षिणपन्थ र साहित्य

पेन अमेरिका’बाट यो वर्षको ‘अर्थर मिलर फ्रिडम टु राइट लेक्चर’का लागि निमन्त्रणा पाउँदा म साँच्चै गौरवान्वित छु । साहित्यको स्थानबारे सामूहिक रूपमा विचार गर्न योभन्दा राम्रो समय के हुन सक्छ ? किनभने हामीले जाने–बुझेको यो युग, समाप्तिको चरणमा छ । बरफ पग्लिरहँदा, समुद्रको ताप बढिरहँदा, हाम्रा क्रियाकलापबाट जीवनको अन्तरनिर्भताको सुकोमल सञ्जाल नष्ट भइरहँदा, हाम्रो विशाल बौद्धिकताले मानव र यन्त्रबीचको भेद मेटिँदै गर्दा, पृथ्वीको जीवन हाम्रो प्रजातिको अस्तित्वसँग गाँसिएको छ भन्ने बुझाइलाई घमण्डले छोपिरहँदा र कलालाई अल्गोरिदमले विस्थापित गराइरहँदा ह्वाइट हाउसमा श्वेत सर्वोच्चतावादी, चीनमा नयाँ सम्राट, भारतमा हिन्दू राष्ट्रवादी र अन्य देशमा छोटे तानाशाहले हामीलाई अनिश्चिततातर्फ लगिरहेका छन् । यस्तोमा युरोपका गल्लीमा पुनः नवनाजीको -याली देखिन थालेको छ ।

हामी अधिकांशले अर्को सुन्दर संसार सम्भव छ भन्ने सपना देख्यौँ । ती शासकले पनि यस्तै सपना देखेका थिए र यी दुई सपनामध्ये उनीहरूको सपना जुन हाम्रा लागि दुस्वप्न हो, सो पूरा हुने अवस्थामा छ । पुँजीवादले सिर्जना गरेको अनावश्यक युद्ध र ऊद्वारा अनुमोदित लोभले पृथ्वीलाई जोखिममा पारेको छ । त्यसले संसारलाई शरणार्थीले भरिदिएको छ । यसको प्रमुख दोष सोझै अमेरिकी सरकारको काँधमा जान्छ । १७ वर्षअघि अमेरिकाले तालिवानलाई सत्ताच्युत गर्ने भन्दै अफगानिस्तानमा आक्रमण ग-यो ।

ठूलो परिमाणको बम प्रहारबाट देशलाई झन्डै ‘ढुंगे युग’मा पु-याएपछि अमेरिकी सरकार हाल सोही तालिवानसँग वार्तामा फर्किएको छ । यसबीच उसले इराक, लिबिया र सिरियालाई ध्वस्त बनाइसक्यो । लाखौँ मानिसले युद्ध र आर्थिक नाकाबन्दीका कारण ज्यान गुमाए । सिंगो एउटा क्षेत्र अराजकतामा धकेलिएको छ । त्यहाँ रहेका एतिहासिक महत्वका सहरहरू धुलिसात् भए ।

यो ध्वंश र भग्नावशेषका बीचबाट आइएस नामक दानवको जन्म भयो, जुन विश्वभरि फैलियो । त्यसले अमेरिकीद्वारा सिर्जित युद्धसँग कुनै सरोकार नराख्ने सर्वसाधारणमा समेत हत्या शृंखला मच्चाइरहेको छ । पछिल्ला केही वर्षमा अमेरिकाले सञ्चालन गरेको युद्ध र अन्तर्राष्ट्रिय सन्धिको उल्लंघनको स्तरलाई हेर्ने हो भने, अमेरिका आफैँले भन्ने गरेको ‘दुष्ट राज्य’को परिभाषामा समाहित हुन आउँछ । हाल ऊ त्यही पुरानो डर, धम्की र आणविक हतियारको झुटो समाचार प्रयोग गर्दै इरानमाथि आक्रमण गर्न अघि बढिरहेको छ । इरानमाथि आक्रमण भए उसको सबैभन्दा ठूलो गल्ती त्यही हुनेछ ।

फेसबुक ‘लाइक’, फासीवादी -याली, फेक न्युजको ‘कु’ र प्रलयतर्फको दौडजस्ता पागलपनबीच साहित्यको स्थान के त ? केलाई साहित्य भन्ने ? यसको निर्णय कसले गर्छ ? यी प्रश्नको कुनै एउटै आदर्श उत्तर छैन । यस्तो समयमा लेखक हुँदाका मेरा अनुभव तपाईंमाझ बाँड्न चाहन्छु :

केही वर्षअघि रेल पर्खंदै गर्दा स्टेसनमा बसेर पत्रिका पढिरहेकी थिएँ । मेरा आँखा पत्रिकाको भित्री पानामा रहेको एउटा सानो समाचारमा अडियो । त्यहाँ प्रतिबन्धित माओवादीका दुई कार्यकर्ता पक्राउ परेको समाचार थियो । पक्राउ परेका व्यक्तिबाट जफत गरिएका सामग्रीमा ‘अरुन्धती रायका पुस्तक’ पनि थिए भन्ने समाचारमा उल्लेख थियो । त्यसलगत्तै मैले केलजका एकजना अध्यापकलाई भेटेँ । जो आफ्नो जीवनको ठूलो समय ‘देशविरोधी गतिविधि गरेका कारण’ पक्राउ परेकाहरूको मानवअधिकारको वकालतमा बिताउँथिन् ।

यसको अर्थ उनले करर्पोरेटले गर्ने खानी उत्खनन र पूर्वाधार परियोजनाको विरोध गर्दा पक्राउ परेकाको कानुनी प्रतिरक्षा गर्नुपथ्र्यो । सरकार समर्थित यस्तो कामले भारतमा लाखौँ मानिसलाई तिनको घरबाट, उनको आफ्नो जमिनबा विस्थापित हुनुपरेको छ । प्राध्यापकले भनेअनुसार ती अधिकांश कैदीले बयानका क्रममा तिनले लिएको ‘गलत बाटो’का लागि मेरो कृतिले सघाउने गरेको बताएका रहेछन् । त्यसपछि उनले भनिन्– ‘यसका लागि उनीहरूले तपाईंविरुद्ध मुद्दा लगाउन खोज्दै छन् र प्रमाण संकलन गरिरहेका छन् ।’

उनले उल्लेख गरेको पुस्तक मेरो उपन्यास होइन । ती सबै गैर–आख्यान हुन् । एक ढंगले ती पनि आख्यान नै हुन् । ती सबै कृतिले करर्पोरेटले जल, जंगल, जमिन, उत्पादनका बिउबिजन, किसान र श्रमिकको पक्षमा रहेका कानुन तथा नीति निर्माणमा कसरी आक्रमण गरिँदै छ भन्ने कथा कहन्छन् । मेरा अधिकांश पुस्तकमा यस्तो आक्रमणको प्रतिरोध गर्ने मानिसका कथा समेटिएका छन् । मेरा पुस्तकमा आएका पात्र वास्तविक जलवायु योद्धा हुन् । ती स्थानीय थिए, तर तिनले बोकेको सन्देश विश्वव्यापी थियो ।

तिनले पर्यावरणको समस्या विश्वव्यापी हुनुअगावै त्यसको गाम्भीर्य बुझेका थिए । तथापि, तिनलाई निरन्तर देशको विकास र प्रगतिको बाधकका रूपमा खलनायक जसरी प्रस्तुत गरियो । एकजना पूर्वप्रधानमन्त्री तथा खुला बजार अर्थतन्त्रका हिमायतीले माओवादी छापामारलाई भारतको ‘सबैभन्दा ठूलो सुरक्षा चुनौती’ भने । अधिकांश सदस्य अदिवासी रहेका माओवादी छापामार, भारतको जंगलमा ठूला कर्पोरेट खानी परियोजनाविरुद्ध लडिरहेका छन् । तर, उनीहरूविरुद्ध ‘अप्रेसन ग्रिन हन्ट’ नामको सैन्य अभियान घोषणा गरियो ।

जंगलको कुना–कुनामा सेना पसे, जसको सबैभन्दा ठूला सत्रु थिए– विश्वकै सबैभन्दा गरिब समुदाय । अफ्रिका, अस्ट्रेलिया, ल्याटिन अमेरिका वा अन्यत्रका आदिवासीको अवस्था पनि योभन्दा भिन्न छैन । एकातर्फ पर्यावरणको संरक्षण गरिरहेका समुदायविरुद्ध युद्धको घोषणा गरिएको छ, अर्कोतर्फ जलवायु परिवर्तन विश्वको सबैभन्दा ठूलो चुनौती हो भन्ने आमसहमति विकास हुँदै छ । योभन्दा ठूलो विडम्बडा के हुन सक्छ ?

जब मेरो निबन्धको पुस्तक पहिलोपटक प्रकाशित भयो, त्यसलाई साहित्यको ठ्याक्कै कुन विधामा राख्ने अन्योल देखियो । विशेषगरी, साहित्यलाई कुनै न कुनै विधामा राखिनुपर्छ भन्नेमा यो अन्योल घनीभूत देखिन्थ्यो । उनीहरू मेरो कृतिलाई पम्पलेट भन्ने कि, प्राज्ञिक लेखन भन्ने अथवा पत्रकारीय लेखन भन्ने कि, नियात्रा भन्ने निक्र्योलमा पुग्न सकेनन् । केहीले त्यसलाई लेखनका रूपमा गणना गर्नै चाहेनन् । अन्य केहीले मैले डोनरले दिने पैसाका लागि लेखेको भने । यस्तो बुझाइ राख्नेले मसँग धेरै प्रस्ताव ल्याए– ‘तपाईंले बाँधबारे लेखेको आलेख मलाई निकै मन प-यो ।

मेरा लागि पनि बालशोषणबारे लेखिदिनुस् न ।’ केहीले मलाई कसरी लेख्नुपर्छ र कुन विषयमा लेख्नुपर्छ भन्नेबारे ‘लेक्चरै’ दिए । मलाई पाठ पढाउनेमा धेरैजसो उच्च जातिका पुरुष थिए । तर, राजमार्गले नछोएका भू–भागमा ती निबन्ध छिट्टै अरू क्षेत्रीय भाषामा अनुवाद भए । पम्पलेटमा छापिए । आक्रमणमा परेका गाउँमा निःशुल्क वितरण गरिए । त्यस्तै, झुटो पढाउँदै गरिएका विद्यालयमा पनि वितरण गरिए ।

युद्ध मोर्चाका यी पाठकका लागि साहित्य के हो भन्ने बिल्कुल फरक मान्यता स्थापित भयो । मैले यो किन उल्लेख गरेँ भने यसले मलाई साहित्यको स्थान लेखक र पाठकले निर्माण गर्ने रहेछन् भन्ने सिकायो । यसलगत्तै मलाई ‘लेखक–अभियन्ता’ भन्न थालियो । जसले मलाई यो वर्गीकरणमा पारे, तिनका अनुसार आख्यान राजनीतिक हुन हुँदैनथ्यो र निबन्ध साहित्यिक हुन हुँदैनथ्यो ।

१७ वर्षअघि अमेरिकाले तालिबानलाई सत्ताच्युत गर्ने भन्दै अफगानिस्तानमा आक्रमण ग-यो । बम प्रहारबाट देशलाई झन्डै ‘ढुंगेयुग’मा पु-याएपछि अमेरिकी सरकार फेरि तालिबानसँग वार्तामा फर्किएको छ ।

मैले मेरो आख्यान र गैरआख्यानलाई एक–अर्कासँग संघर्षरत रहेको कहिल्यै बुझिनँ । निश्चित रूपमा ती एउटै होइनन्, तर तीबीच भिन्नता पहिल्याउन कल्पना गरेभन्दा गाह्रो रहेछ । तथ्य र कथ्य विपरीत होइनन् । मेरो सन्दर्भमा भन्ने हो भने, आख्यान अथवा गैरआख्यान कुनै एउटा धेरै पढिन्छ भन्ने होइन । यी दुईबीच मैले देखेको भिन्नता भनेको त्यो लेखिरहँदा मेरो शरीरले महसुस गर्ने भिन्नता हो ।

यी दुईबारे भिन्नता सोच्दा जोन बर्गरले मलाई लेख्नुभएको पहिलो सन्देश सम्झन्छु । लामो समय मेरो आदर्श रहेका व्यक्तिबाट सुन्दर अक्षरमा लेखिएको चिठीमा लेखिएको थियो– ‘तपाईंका आख्यान र गैर–आख्यानले दुईटा खुट्टाले जस्तै तपाईंलाई संसारको भ्रमण गराउनेछन् ।’ त्यसपछि मैले यस विषयमा सोच्न छाडिदिएँ । मविरुद्ध निर्माण गरिएको भनिने मुद्दा हालसम्म कार्यान्वयनमा आएको छैन ।

तर, त्यसबारे मलाई सतर्क गराउने मेरी अध्यापक साथी अहिले जेलमा छिन् । उनीमाथि राष्ट्रविरोधी क्रियाकलापमा सहभागी भएको मुद्दा लागेको छ । भारतीय जेलमा राजनीतिक बन्दीको संख्या ठूलो छ । तीमध्ये अधिकांशलाई माओवादी वा इस्लामिक विद्रोहीको आरोप लगाइएको छ । यी दुई पदावली यति सघन भइसकेका छन् कि सरकारी नीतिको विरोध गर्ने जोसुकै यस शीर्षकमा पर्न सक्छन् ।

निर्वाचनअघि गरिएको पक्राउमा परेका शिक्षक, वकिल, अभियन्ता र लेखक जेलमा छन् । तिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या प्रयासको आरोप लगाइएको छ । मोदीको हत्या गर्न खोजिएको भन्ने सरकारी आरोपको षड्यन्त्र यति फासफुसे छ कि त्योभन्दा राम्रो षड्यन्त्र त ६ वर्षको बच्चाले रच्न सक्छ । फाँसीवादीले राम्रो आख्यान लेखनको कक्षा लिनुपर्ने देखिएको छ ।

रिपोटर्स विथआउट बोर्डरका अनुसार भारत पत्रकारका लागि ५औँ सबैभन्दा खतरनाक देश हो । भारतअघि अफगानिस्तान, सिरिया, यमन र मेक्सिको मात्र छन् । यस्तो विकराल अवस्थामा लेखक र पत्रकारको हितरक्षामा लागि परेको ‘पेन’लाई म धन्यावद दिन चाहन्छु । भारतको जेलमा परेका पत्रकारलाई त भाग्यमानी मान्नुपर्छ । अभागी त मारिएका हुन् ।

गौरी लंकेश, नरेन्द्र दाभोल्कर, एमएम कलबुर्गी र गोविन्द पानसरे हामीले हेर्दाहेर्दै मारिए । ती सबै हिन्दू उग्र दक्षिणपन्थका आलोचक थिए । तिनको हत्याले व्यापक चर्चा पायो । तर, सूचनाको हक ऐनअन्तर्गत ठूलो भ्रष्टाचार काण्डलाई पर्दाफास गर्न लागेका अन्य कैयौँ अभियानकर्मी मारिएका छन् वा शंकास्पद अवस्थामा मृत भेटिएका छन् । बितेको पाँच वर्षमा भारत भिडको कुटाइबाट मारिने देशमा अग्रस्थानमा छ ।

मुसलमान र दलित दिउँसै हिन्दू भिडद्वारा सार्वजनिक रूपमा कुटिएर मारिनुपरेको छ । अझ डरलाग्दो त यस्ता हत्यालाई पराक्रमको रूपमा भिडियो बनाएर सार्वजनिक हुने गरी अपलोड गरिएका छन् । यस्ता हिंसामा संलग्नहरू आफू उच्चपदस्थबाट संरक्षित हुनेमा ढुक्क छन् । संरक्षण सरकार र प्रधानमन्त्रीबाट मात्र होइन कि ती दुवैलाई नियन्त्रण गर्ने राष्ट्रिय स्वयंमसेवक संघ (आरएसएस)बाट भएको देखिन्छ ।

ह्वाइटहाउसमा श्वेत सर्वोच्चतावादी, चीनमा नयाँ सम्राट्, भारतमा हिन्दू राष्ट्रवादी र अन्य देशमा छोटे तानाशाहले हामीलाई अनिश्चिततातर्फ लगिरहेका छन् । यस्तोमा युरोपका गल्लीमा पुनः नवनाजीको -याली देखिन थालेको छ ।

उग्र दक्षिणपन्थी, फासीवादी संरचनामा निर्माण भएको यो संगठन भारतको शक्तिशाली र उत्तिकै गोप्य संगठन हो । यसका विचारक हिटलर र मुसोलिनीका ठूला प्रशंसक थिए । यिनले भारतका मुसलमान समुदायलाई नाजीको नजरमा रहेका यहुदीसरह ठान्छन् । त्यस्तै, विगत ९५ वर्षदेखि यो संगठन अनवरत रूपमा भारतलाई हिन्दू राष्ट्र निर्माणको लक्ष्यमा काम गरिरहेको छ । यिनले घोषित रूपमै मुसलमान, क्रिस्चियन र कम्युनिस्टलाई सत्रु मान्छन् ।

आरएसएस आफूसँग ६ लाख तालिमप्राप्त सैन्य दस्ता भएको दाबी गर्छ । ‘स्वयंसेवक’ भनिने यो वर्गमा प्रधानमन्त्री मोदी र उनको मन्त्रिपरिषद्का कैयन् सदस्य पर्छन् । वर्तमान प्रधानमन्त्री गुजरातको मुख्यमन्त्री छँदा उनकै निर्देशनमा मुसलमान समुदायमाथि ठूलो नरसंहार मच्याइयो । त्यस क्रममा दुई हजारको ज्यान गयो । त्यस्तो इतिहास बोकेका व्यक्तिलाई गुजरातमा व्यवसायी र उद्योगीको भेलाले भावी प्रधानमन्त्रीका रूपमा समर्थन ग-यो ।

फासीवाद र पुँजीवादबीचको बलियो गठजोड यही घटनाबाट झल्किन्छ । मोदी सन् २०१४ मा प्रधानमन्त्री बने । त्यसपछि उनलाई बाराक ओबामा र इमानुयल म्याक्रोनजस्ता उदार भनिने नेतासमेतले अँगाले । त्यसयता पाँच वर्षको शासनकालमा अल्पसंख्यकहरू ठूलो भयका बीच बाँचिरहेका छन्, तर मोदी पुनः निर्वाचित हुने मार्गमा छन् ।

भारत आफ्नो स्वत्वका लागि लडिरहेको छ । भाजपा यदि निर्वाचनमा पराजित भयो भने पनि हामी खतरामुक्त हुन्छौँ भन्ने होइन । आरएसएस त्यस्तो छेपारो हो, जो दसौँ लाख खुट्टामा हिँड्छ । निर्वाचन हार्दैमा यसको नर्कतर्फको यात्रा रोकिने छैन । यसले आवश्यक परेका वेला तर्क र समावेशिताको मुकुन्डो भिरिहाल्छ । विगतको लामो प्रयासबाट यो भारतका झन्डै प्रत्येक संस्थामा प्रवेश गरिसकेको छ ।

यदि भाजपाबाहेकको सरकार बन्ने अवस्था आयो भने पनि त्यो कमजोर गठबन्धनको आधारमा बन्नेछ । त्यसपछि राजमार्गमा गाईको मृत शरीर भेटिनेछ । मन्दिरमा गाईको मासु र मस्जिदमा सुँगुरको मासु पाइन थाल्नेछ । जहाँ चर्का साम्प्रदायिक हिंसा सामान्य हुन जान्छन् । देश जलिरहँदा दक्षिणपन्थी हामी मात्र देशलाई सही ढंगले चलाउन सक्छौँ भनेर विकल्पको रूपमा फेरि उदाउनेछ । गहिरो धुव्रीकृत शासन सत्ताले यो खेल खेलाइरहनेछ । यी सबै विषय धेरै पहिलेदेखि मेरा आख्यान र गैरआख्यानका कथ्य हुन् ।

(‘पेन अमेरिका’ले वार्षिक रुपमा आयोजा गर्ने ‘अर्थर मिलर फ्रिडम टु राइट लेक्चर’मा लेखिका अरुन्धती रोयले दिएको मन्तव्यको सम्पादित अंश ।) अनुवाद – श्रवण उप्रेती

#दक्षिणपन्थ र साहित्य # अरुन्धती रोय

Via : nayapatrikadaily

सम्बन्धित खवर